रास्वपा र पपुलिजम: सेलिब्रिटी क्लब कि देश रूपान्तरणको शक्ति?
चासो जसको चर्चा छ उसैको। आसन्न प्रतिनिधि सभा चुनावमा चर्चित अनुहारहरूको बाहुल्यता रास्वपामा देखिन्छ। सामाजिक सञ्जालमा छाएका, कलाकारिता, खेलकुद, पत्रकारिता, राजनीति देखि अभियान र जेनजी विद्रोह गरेका सम्मलाई समेटेर, सुगम र तराई–पहाड केन्द्रित (बसाइँसराइ) धेरै हुने शहरी र ग्रामीण क्षेत्रलाई केन्द्रित गरी टिकट बाँडेको देखिन्छ। अझ भनौँ, सार्वजनिक मिडियामा अनुहार देखाएका, बोलेका र यसअघि नै सार्वजनिक पद धारण गरेकालाई जनताले सजिलै पत्याउँछन् भन्ने हाइपोथेसिसका बीच उम्मेदवारी घोषणा र टिकट बाँड्ने काम गरेको देखिन्छ। बालेन यो पपुलर राजनीतिको सबैभन्दा मूल्यवान फेस–भ्यालु रहेका छन्। सुदन गुरुङ लगायत जेनजी अगुवा परिवर्तनलाई दलमार्फत संस्थागत गर्न त्यसमा समाहित अनुहार हुन्। त्यसबाहेक पुराना दलमा विद्रोह गरेका रहबर अन्सारी सम्म अटाएका छन्। तर यही बीच बालेन वा रवि निकट भएकै कारण र सामाजिक सञ्जालमा फलोअर्स बढाएका थुप्रै भाइरल र एलिट अनुहारहरूलाई उम्मेदवार प्रत्यक्ष र समानुपातिकमा उठाएको छ। टिकटकै लागि केहीले पार्टी कार्यालयमै झगडा गरेको पनि देखियो।
तर यस्तो लाग्छ, जुन दललाई जनताले आशा र विश्वासको रूपमा हेरेका छन्, त्यो दलले जनभावना अनुरूप देशको स्वरूप बदल्ने सहितको घोषणापत्र, कार्यदिशा र सुधारवादी योजना लिएर जनताको घरदैलो जानु पर्ने हो। तर यहाँ भाइरल अनुहार र सामाजिक सञ्जालमा हालिने सूचनाबाट निर्मित एल्गोरिदमको बलमा राजनीतिक सेण्टिमेन्ट बटुल्ने र भोट जुटाउने प्रयास गरेको देखिन्छ। वास्तवमा पुराना दलबाट वाक्क–दिक्क भएका शहरी जनता यो पटक रास्वपालाई बहुमत सहित संसदमा पठाएर सरकार बनाएको हेर्न चाहन्छन्। रास्वपाले देशको कायापलट गर्छ भन्ने विश्वासले भन्दा पनि पुराना बेइमान दल र नेतृत्वलाई ठेगानमा ल्याउँछ भन्ने भास्य जनमानसमा निर्माण भएको छ, र यस दलका नेता र समर्थकले सार्वजनिक रूमा लेखेको र बोलेको कारणले पनि त्यस्तो देखिन्छ।
जेनजी विद्रोहको बलमा जसरी रास्वपाको पुनरुत्थान भयो र रवि लामिछाने जेलबाट निस्किएपछि जुन गतिमा परिवर्तनकारी दल, समूह र व्यक्तिहरू जोडिए, त्यो बेजोड राजनीतिक अभ्यास बनेको छ, त्यसमा शंका भएन। तर विभिन्न पृष्ठभूमिबाट आएकाहरूलाई एक ठाउँमा राखेर देशको सुशासन, शान्ति, अर्थतन्त्र र विकासको खाका कस्तो कोर्ने भन्ने विषयमा खोइ सार्वजनिक र घनिभूत छलफल र विमर्श भएका? यदि वैचारिक आधारलाई रास्वपाले यथोचित स्थान दिएको थियो भने पक्कै रास्वपाको घोषणापत्र ग्राउन्ड–ब्रेकिङ, अर्थात् जेनजी पुस्ता लगायत आम जनताले ३० वर्षमा देख्न चाहेको सामाजिक न्याय र विधिको शासन सहितको आर्थिक रूपमा आत्मनिर्भर, संवैधानिक समाजवाद उन्मुख उदार लोकतान्त्रिक देशको परिकल्पनामा आम मतदाता डुबिराखेका हुन्थे।
तर विडम्बना, रास्वपाका नेताहरूका भाषणमा विरोधी र विपक्षीसँगका टकराव र तिनलाई कसरी उच्छिन्न गर्ने र जनताका सेण्टिमेन्ट कसरी बटुल्ने बाहेकका विचार, दृष्टिकोण र योजना त्यति मुखरित भएको पाइँदैन। त्यसमाथि दस्तावेजमा के लेखेको छ भनेर पढौँ भनेको बाचापत्र पनि वेबसाइटमा पुरानै प्रतिनिधि सभाको चुनाव २०७९ का लागि तयार गरिएको रहेछ, त्यसलाई २०८२ को चुनावको यो तयारीबीच अहिलेसम्म अद्यावधिक गरिएको रहेनछ। त्यही पुरानै बाचापत्र पढेँ। भोट हाल्ने मनस्थितिनै बनाइसकेपछि बाचापत्र त पढ्नै प¥यो।
यो बाचापत्रमा सबै क्षेत्र समेट्ने प्रयास गरिएको रहेछ तर विषयको गहिराइमा पुगेर त्यसका विभिन्न आयामहरू केलाएर क्षेत्रगत सुधारहरू समेट्न नसकेको देखिन्छ। विषय विज्ञहरूसँग समन्वय नगरी सतही र आम बुझाइको हिसाबले क्षेत्रगत समस्याहरूलाई उक्त बाचापत्रमार्फत समाधान कोर्ने क्रममा थुप्रै कमजोरी देखिन्छन्। त्यसबाहेक २०७९ को निर्वाचनमा गरेको बाचा कुन हदसम्म कसरी निर्वाह गरेको छ, त्यसको लेखाजोखा कतै छ? मूल्यांकन दल र तिनका नेतृत्वले नगरे पनि आम मतदाताले गर्नु पर्ने हुन्छ।
त्यसमाथि देशको नेतृत्व गर्छु भनेर अघि बढेको दलले जेनजी विद्रोह पछिको विषम राजनीतिक परिस्थिति, सुस्ताएको देशको अर्थतन्त्र, डगमगाएको आपसी विश्वास र भू–राजनीतिक परिवर्तनको चपेटालाई मध्यनजर गरी देशको आगामी भविष्य कसरी कोर्छ र सम्बोधन गर्छ भन्ने कुरा आम चासोको विषय हो, र ती विषयहरूलाई कसरी आफ्नो बाचापत्रमार्फत सम्बोधन गर्दै जनतालाई विश्वास दिलाउँछ भन्ने प्रश्न मुख्य हो।
अन्तिममा, चर्चित अनुहारका भाषणले भिड जम्मा त गर्छ तर ती भिडको जीवनमा परिवर्तन संस्थागत अभ्यासमार्फत प्राप्त हुने विश्वसनीयताले मात्र निर्धारण गर्छ। चर्चित अनुहारलाई नै चुनावी नागरिक सरकारका लागि छनोट गर्दा, चुनाव हुनु पूर्व नै कसरी आफ्नो जिम्मेवारी पन्छाएर पदबाट राजीनामा दिँदै टिकट पाउन कुदिरहेका छन्। कति जिम्मेवार छन् यस्ता अनुहार, आफै मूल्यांकन गरौँ। तापनि संसदमा गएर देशको रूपान्तरण गर्ने खाका, नीति र कानुन कोर्ने भनेको अध्ययनशील, चिन्तनशील, अनुभवी, विषयविज्ञता भएका, इमानदार इच्छाशक्ति भएको नेतृत्वबाट नै हो। चुनाव जित्ने होडबाजीमा भाइरल अनुहारलाई धेरै समेट्दा भोलि कतै संसद सेलिब्रिटी क्लब हाउस नबनोस्। वैज्ञानिक, इन्जिनियर, प्राध्यापक, अनुसन्धानकर्ता, योजनाविद्, परराष्ट्रविद्, विकासविद्, अर्थ–राजनीति शास्त्री लगायत बौद्धिकहरूले क्षेत्रगत नक्सा कोर्न पाउने यथोचित स्थान पाउन। विशेषज्ञता र नैतिकता बिना संसद कस्तो हुन्छ, विगतले बताइसकेको छ। भाइरलिजम् र अल्गोरिदमको बलमा पपुलिस्ट राजनीतिले चुनाबी माहोल त तताउला तर देशले खोजेको दिर्घकालिन रोडम्याप र डेलिभरी नदिन सक्छ। सजग हुन जरुरि छ।
रास्वपा र पपुलिजम: सेलिब्रिटी क्लब कि देश रूपान्तरणको शक्ति?
— Pushkar Khanal (सञ्चार विज्ञ तथा शोधार्थी, KU Leuven, बेल्जियम)
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
सम्बन्धित खबर
समाचार
एमालेमा संगठनात्मक अराजकता हटाउन ‘मजस्तै महासचिव चाहिन्छ’: पृथ्वीसुब्बा गुरुङ
Dec, 11, 2025
In-Depth-Update
समाचार
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
Dec, 11, 2025
In-Depth-Update
समाचार
ओलीले हटेर नेतृत्व घोषणा गरेमा मेरो कुनै आपत्ति छैन : ईश्वर पोखरेल
Dec, 10, 2025
In-Depth-Update